Logo

२१ जेठ, काठमाडौं । चितवनस्थित बहुप्रतिक्षित गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य पुनः सञ्चालनमा आएको छ ।

लामो समयदेखि बजेट निकासामा भएको ढिलाइ र सोही कारण भुक्तानी नपाएको भन्दै निर्माण कम्पनी ‘हिमालयन कालिञ्चोक बीबीआर जेभी’ले विगत एक महिनादेखि निर्माण कार्य ठप्प पारेको थियो । बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ बजेट निकासा भएसँगै अवरुद्ध कामले फेरि गति लिएको हो । महानगरपालिकाले निर्माण कम्पनीलाई बिल अनुसारको सम्पूर्ण भुक्तानी गरिसकेको डिभिजन इन्जिनियर सन्तोष आचार्यले पुष्टि गरेका छन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण अघि बढाउन नसकेपछि भरतपुर महानगरपालिकाले जिम्मा लिएर बोलपत्रमार्फत अघि बढाएको यस आयोजनाको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ। सम्झौता अनुसार कुल ७५ करोड ५० लाखभन्दा बढीको लागतमा निर्माण भइरहेको यो रंगशालाको म्याद आगामी पुस २२ गतेसम्म रहेको छ । तोकिएको समयभित्रै बाँकी कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनी पुनः काममा फर्किएपछि चितवनवासीमा रंगशाला पूरा हुने आशा पलाएको छ ।

अवरोध हटेसँगै अब निर्माण कार्यले तीव्रता पाउने अपेक्षा गरिएको छ । महानगरपालिकाले आयोजनाको प्रगतिलाई नजिकबाट नियालिरहेको र तोकिएको समयसीमाभित्रै गुणस्तरीय काम सम्पन्न गराउन सक्रियता देखाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस रंगशालाको निर्माणले पूर्णता पाएपछि चितवन खेलकुदको क्षेत्रमा थप आकर्षक गन्तव्य बन्ने निश्चित छ ।


सम्बन्धित समाचार