Logo

२१ जेठ,वीरगञ्ज । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत दुई कम्प्युटर अपरेटरको तलबभत्ता पकाहामैनपुर गाउँपालिकाले भुक्तानी गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले यसलाई आर्थिक अनियमितता भन्दै आफ्नो ६३औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सामा खटिएका कम्प्युटर अपरेटर रविभूषणप्रसाद कुशवाहा र सहायक कम्प्युटर अपरेटर राजेशकुमार महतोलाई एकै आर्थिक वर्षमा कुल ८ लाख ३५ हजार ६५० रुपैयाँ भुक्तानी गरेको थियो।

उक्त रकम उनीहरूलाई कम्प्युटर अपरेटर पदमा डोर हाजिरीमा कामकाज गर्न खटाइएबापत गाउँपालिका कार्यालयबाट प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९(१) अनुसार विनियोजित बजेट निर्धारित कार्यमा मात्र खर्च गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै छुट्टै अस्तित्व र बजेट व्यवस्था भएको अर्को सरकारी कार्यालयका कर्मचारीलाई पालिकाबाट भुक्तानी गर्नु नियमसम्मत नदेखिएको जनाएको छ।

प्रतिवेदनमा यस्तो खर्चले गाउँपालिकाको आफ्नै पूर्वाधार विकास तथा निर्माणसम्बन्धी बजेट व्यवस्थापनमा अतिरिक्त चाप पर्ने तथा स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहमा समेत असर पर्न सक्ने उल्लेख गरिएको छ।

महालेखा परीक्षकको कार्यालयले भविष्यमा यस्ता खर्चमा नियन्त्रण गर्न तथा बजेटको प्रयोग कानुनअनुसार मात्र गर्न पकाहामैनपुर गाउँपालिकालाई सुझाव दिएको छ।


सम्बन्धित समाचार
भर्खरै