
२२ बैशाख, वीरगञ्ज । वीरगन्जको मुन लाइट माध्यमिक विद्यालयमा मानव बेचबिखन विरुद्धको जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षण सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजना, सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं रहेका थिए ।
प्रमुख अतिथि प्रहरी निरीक्षक चौलागाईंले मानव बेचबिखनको वर्तमान अवस्था, जोखिमहरू, रोकथामका उपाय तथा प्रहरी–समुदाय सहकार्यको महत्त्वबारे जानकारी दिँदै सचेत रहन सबैलाई आग्रह गरे।
कार्यक्रमको मूल उद्देश्य समुदायलाई मानव बेचबिखनजस्ता गम्भीर अपराधबारे जागरुक बनाउनु, जोखिमको पहिचान गर्नु तथा सुरक्षाका उपायहरूबारे जानकारी दिनु रहेको आयोजकको भनाई छ ।
कार्यक्रममा मुन लाइट माविका प्रिन्सिपल श्याम केसी तथा कार्यक्रम सञ्चालन कंचनजंघा माविका निर्देशक मार्टिन मोक्तानले गरेका थिए। आयोजकका अनुसार, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित यस कार्यक्रमले प्रहरी र नागरिकबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागीहरूले यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। साथै, स्थानीयस्तरमै अपराध नियन्त्रण, सुरक्षाबोध अभिवृद्धि र सामाजिक उत्तरदायित्व सबल बनाउने दिशामा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार नन्दलाल राउत, सियाराम नेपाली, प्रहरी हवल्दार कुमार विक लगायत आजीवन सदस्यहरू तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।