
२२ वैशाख, वीरगञ्ज । विश्व शान्तिदूत भगवान गौतम बुद्धको २५६९ औं जन्म जयन्ती वीरगन्जमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्य रूपमा मनाइने भएको छ। वीरगन्ज बुद्ध जयन्ती मूल समारोह समितिको आज बसेको बैठकले विभिन्न उपसमितिहरू गठन गर्दै बैशाख २९ गते पूर्णिमाको दिन बुद्ध जयन्तीलाई विशेष रूपमा मनाउने निर्णय गरेको हो।
वीरगञ्ज बौद्ध समितिका अध्यक्ष प्राध्यापक डाक्टर दीपक शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले बुद्ध जयन्तीलाई सफल बनाउन विभिन्न कार्ययोजनाहरू तय गरेको छ। जसअनुसार बैशाख २८ गते आइतबार भिस्वा विहारमा सरसफाई कार्यक्रम गरिनेछ।
मुख्य दिन बैशाख २९ गते बिहान ७ बजे वीर्ता, रेशमकोठी र माईस्थानमा भगवान बुद्धको प्रतिमामा पूजाअर्चना गरिनेछ। त्यसपश्चात् माईस्थानबाट झाँकी सहितको शान्ति र्याली निकालिने कार्यक्रम रहेको छ।
उक्त शान्ति -याली माईस्थानबाट सुरु भई वीरगन्जको घण्टाघर, लिंकरोड, बसपार्क, भानुचोक हुँदै दोस्रो बाइपास सडक भएर कृष्ण प्रणामी मन्दिरबाट भिस्वा विहारमा पुग्नेछ। र्यालीमा सहभागी भक्तजनहरूलाई मानव धर्म सेवा समिति अगाडि शीतल पेय जल तथा सर्वत वितरण गरिने सचिव अधिवक्ता सुन्दर श्रेष्ठले जानकारी दिए।
भिस्वा बौद्ध विहारमा पुगेपछि विशेष पूजाअर्चना, प्रसाद वितरण र दिनभर गुम्बामा पूजापाठ गरिने कार्यक्रम रहेको छ। साँझपख भिस्वा विहारमा दीप प्रज्ज्वलन गरी शान्ति र सद्भावको कामना गरिनेछ।
२५६९ औं बुद्ध जयन्तीलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारीहरू बाँडफाँट गरिएको छ। प्रचारप्रसारको जिम्मा निरज पिठाकोटे मगरलाई दिइएको छ भने सरसफाईको जिम्मेवारी एलाईड सोसाईटीका संस्थापक ओम कुमार झाले पाएका छन्। त्यस्तै, दीप प्रज्ज्वलनको व्यवस्थापन वीरगन्ज जेसिजले गर्नेछ भने अतिथि निमन्त्रणा तथा व्यवस्थापनको सम्पूर्ण कार्य वीरगन्ज बौद्ध समितिले गर्ने जनाएको छ।
बुद्ध जयन्तीको यस पवित्र अवसरमा सांसद, मन्त्री, स्थानीय सरकारका प्रमुख, जिल्ला स्थित प्रशासन प्रमुख, स्थानीय सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरिनेछ। साथै, सम्पूर्ण बुद्धमार्गी तथा अनुयायीहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।