Logo

२२ बैशाख, सुर्खेत । सुर्खेतमा नेपाली सेनाका जवानले आफ्नी पत्नीको हत्या गरेका छन्। पाँचथरको वीरदल गणमा कार्यरत २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेमा ओली खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रेमाको मोबाइलमा अर्को पुरुषको तस्बिर देखेपछि दर्शनले आवेगमा आएर हत्या गरेका हुन्।

शनिबार दर्शनले प्रेमालाई छिन्चुमा भेट्न बोलाएका थिए। उनले साथीमार्फत सामान पठाइदिएको र आफू पनि त्यहीँ आउने बताएका थिए। गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ५ वर्षीया छोरीसँग बस्दै आएकी प्रेमाको माइती घर पनि सोही वडाको तोरीबारीमा छ। सात वर्षअघि प्रेम विवाह गरेका उनीहरूबीच पछिल्लो समय सम्बन्ध राम्रो थिएन र बारम्बार झगडा हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। एकअर्कामा शंका गर्ने उनीहरूबीच सम्बन्धविच्छेदको कुरा समेत चलेको थियो। यही कारण दर्शन दसैँमा घर आएका थिएनन्। तर, सामान लिन जान भनेपछि प्रेमा शनिबार साँझ भेरीगंगा नगरपालिका–१२ छिन्चु पुगेकी थिइन्।

एकाएक श्रीमानलाई देखेपछि प्रेमाले आश्चर्य मान्दै किन झुट बोलेको भनेर सोधेकी थिइन्। दर्शनले भने उनलाई ुसरप्राइजु दिन खोजेको सहज जवाफ दिएका थिए। साँझ करिब साढे ६ बजेतिर भएको भेटपछि उनीहरू केही बेर गफिँदै हिँडेका थिए। तर, केही समयमै उनीहरूबीच विवाद सुरु भयो। प्रेमा वीरेन्द्रनगरतर्फ लाग्न खोज्दा भनाभन बढ्दै गयो र दुवै झिगेनारा खोलाको पुल तरेर उत्तर–पूर्वको रामजानकी सामुदायिक वनतर्फ गए।

सुर्खेतका प्रहरी प्रमुख एसपी रूपेश खड्काका अनुसार करिब आधा घण्टा हिँडेपछि उनीहरू बाटोमा बसेर फेरि विवाद गर्न थाले। त्यही क्रममा दर्शनले प्रेमाको मोबाइल खोसे। मोबाइलमा अर्कै पुरुषको तस्बिर देखेपछि उनले प्रेमासँग सोधपुछ गरे। जवाफमा प्रेमाले पनि दर्शनको अन्य महिलासँगको सम्बन्धबारे कुरा निकालिन्। आवेगमा आएर दर्शनले नजिकैको ढुंगा उठाएर प्रेमाको टाउकोमा प्रहार गरे। प्रेमा ढलेपछि दर्शन पाँच मिनेटसम्म त्यहीँ पर्खे। उनी नचलेपछि मृत्यु भएको निश्चित गरे र आफ्नै सलले घाँटी कसेर घिसार्दै केही पर पुर्‍याई पानी भएको खाल्डोमा फाल्दिए।

एसपी खड्काका अनुसार दर्शनले प्रेमालाई झुन्डिएर आत्महत्या गरेको जस्तो देखाउन घाँटीमा सल कसेर पानीमा फालेको बयान प्रहरीसमक्ष दिएका छन्। प्रहरीले आइतबार घुँडासम्म पानी भएको खाल्डोमा प्रेमाको शव फेला पारेको थियो।

सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी मोहनजंग वड थापाका अनुसार प्रेमा तीन–चार दिनअघि नै घरबाट निस्किएकी थिइन्। उनले फेसबुकमा अर्को युवकको फोटो राखेको देखेपछि दर्शन हत्याको योजना बनाएर बिदामा घर आएको प्रहरीको अनुमान छ। डीएसपी थापाले भने, ‘मोबाइलमा अर्कै पुरुषको फोटो देखेपछि एकाएक आवेगमा आएर हत्या गरेको बयान दर्शनले प्रहरीसमक्ष दिएका छन्।’ उनले थपे, ‘श्रीमान् र श्रीमतीबीच आशंका र अविश्वासका कारण यो हत्या भएको हो।

अनुसन्धानका क्रममा दर्शनको पनि तीन जना महिलासँग सम्बन्ध रहेको खुलेको छ। डीएसपी थापाले भने, ‘श्रीमान् परस्त्रीसँग लागेको थाहा पाएपछि नै प्रेमा र दर्शनबीच अविश्वास बढेको देखिन्छ। त्यसपछि प्रेमाले फेसबुकमा अर्को पुरुषको फोटो राखेपछि दर्शन बिदा मागेर घर आएका थिए।’

प्रेमाको हत्यापछि दर्शन सुर्खेतको एक होटलमा गएका थिए। त्यहाँ आफ्नो झोला राखेर गाडी चढी गुर्भाकोटस्थित घर पुगेका थिए र राति त्यहीँ बसेका थिए। आइतबार दिउँसो थाकल खान जंगल गएका स्थानीयले प्रेमाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रेमाको पहिचान खुलेपछि प्रहरीले उनका श्रीमान् दर्शनको खोजी सुरु गरेको थियो। उनी बिदामा घर आएको थाहा पाएपछि प्रहरीले सोधपुछका लागि उनलाई घरबाटै नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनले आफ्नो अपराध स्वीकार गरेका छन्।

प्रहरीले घटनास्थलबाट ढुंगा प्रहारपछि प्रेमा ढल्दा लागेको रगत, घाँटीमा सलले बाँधेर घिसारिएको बाटो र जंगलमा फालिएको प्रेमाको मोबाइल बरामद गरेको छ। प्रहरी हिरासतमा रहेका दर्शनलाई जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए।


सम्बन्धित समाचार