
२६ बैशाख, वीरगञ्ज । रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा यही २०८२ साल वैशाख २९ गते, दिउँसो ४ बजे भव्य औपचारिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम संस्थाको आफ्नै भवन, रिलिफ सोसाइटी भवन, आदर्शनगर ठा.रा. कलेजपछाडि मा आयोजना हुनेछ।
संस्थाका अध्यक्ष श्री योगेन्द्र प्रसाद यादवले जानकारी दिएअनुसार, सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुद र महिला उद्यमशीलता जस्ता विविध क्षेत्रमा उल्लेखनीय योगदान दिने पाँच जना विशिष्ट व्यक्तित्वहरूलाई यस वर्ष सम्मान गरिनेछ।
सम्मानित हुने व्यक्तित्वहरू यस प्रकार छन्:
- साहित्य क्षेत्र – श्री जयकिशोर पाण्डे, शिक्षक तथा लेखक
- चिकित्सा क्षेत्र – डा. भरत गोइत, मनोरोग चिकित्सक
- खेलकुद क्षेत्र – श्री सविन बस्नेत अध्यक्ष, भेटान्स सिटी क्लब, बीरगन्ज
- समाजसेवा क्षेत्र – श्रीमती विद्या कुमारी सारावगी, अध्यक्ष, उपकार सेवा नेपाल
- महिला उद्यम क्षेत्र – श्रीमती आरती सिंह, उद्यमी
अध्यक्ष यादवका अनुसार, “हामी प्रत्येक वर्ष समाजमा प्रेरणादायी कार्य गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएका छौं। यस परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानको कदर गर्न लागिएको हो।”
कार्यक्रममार्फत गौतम बुद्धको शिक्षालाई स्मरण गर्दै शान्ति, सेवा र सद्भावको सन्देश फैलाउने प्रयास गरिएको छ। कार्यक्रममा स्थानीय विशिष्ट व्यक्तिहरू, समाजसेवी, व्यापारी, बुद्धिजीवी, शिक्षाविद् र सर्वसाधारणको सक्रिय उपस्थिति रहने अपेक्षा गरिएको छ।
रिलिफ सोसाइटी अफ कमर्सले आयोजना गर्न लागेको यो कार्यक्रमले समाजमा सकारात्मक सोच, सेवा भावना र योगदानको मूल्याङ्कन गर्ने संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।