
२६ बैशाख, वीरगञ्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार गरिब, असहाय र पीडित समुदायलाई लक्षित गर्दै ऐतिहासिक स्थल घण्टाघर परिसरमा करिब ८५० थान नयाँ तथा पुराना कपडा वितरण गर्दै नि:शुल्क सेवा कार्यक्रम सम्पन्न गरेको छ।
“जो संग धेरै कपडा छ, हामिलाई दिएर जानुहोस्; जसलाई आवश्यक छ, नि:शुल्क लिएर जानुहोस्” भन्ने मूल मन्त्र बोकेको कपडा बैंकले यो कार्यक्रममार्फत कपडा अभावमा रहेका नागरिकलाई सान्दर्भिक राहत पुर्याएको जनाएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लालबाबु सिंहले गर्नु भएको थियो भने प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी रहनु भएको थियो। प्रमुख अतिथि कुर्मीले संस्थाले पछिल्ला ६ वर्षदेखि बाढी, आगलागी लगायतका विपद्का समयमा प्रत्यक्ष रुपमा पीडितको घरदैलोमा पुगेर सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै यसको निरन्तरताको प्रशंसा गर्नुभयो।
कार्यक्रममा अधिवक्ता पन्नालाल गुप्ता, प्रकाश उपाध्याय, समाजसेवी सतिश सिंह राजपुत, हुकुम सिंह राजपुत, अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष कुशवाहा, अजित भुजेल, किशोरलाल सिंह, नवराज भट्टराई, शोभा देवी, जानकी देवी लगायतको सक्रिय उपस्थिति थियो।
संस्थाले प्रत्येक हप्ता आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि दिउँसो ५ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरूमा विशेष वितरण कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ।
वीरगन्ज कपडा बैंकले समाजसेवाको सशक्त उदाहरण प्रस्तुत गर्दै सहकार्य र सद्भावका माध्यमबाट गरिब, विपन्न तथा पीडित समुदायको जीवनमा सकारात्मक प्रभाव पुर्याउँदै आएको विश्वास व्यक्त गरिएको छ। संस्थाका अनुसार, यस्ता कार्यक्रमले केवल भौतिक राहत मात्र होइन, आत्मबल र सम्मानको अनुभूति पनि दिन्छन्।