Logo

२७ वैशाख,ललितपुर । नेपाल प्रेस युनियनद्वारा आयोजित ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आज ललितपुरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा सुरु भएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका परिपूरक भएको बताए। उनले स्वतन्त्र प्रेसबिना लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भएमा प्रेस स्वतन्त्रता पनि सङ्कटमा पर्ने धारणा व्यक्त गरे।

उपराष्ट्रपति यादवले असल र जिम्मेवार नागरिकको रूपमा लोकतन्त्रको रक्षा गर्दै प्रेस स्वतन्त्रतालाई थप सुदृढ र परिष्कृत गर्नुपर्नेमा जोड दिए। उनले लोकतन्त्रका मूल्यहरूलाई संस्थागत गर्दै प्रेसलाई स्वतन्त्र बनाउन निरन्तर प्रयासको खाँचो औंल्याए।

उनले देश र समाजको उन्नति र समृद्धिका लागि पत्रकारहरूको भूमिका वाच डगको रूपमा हुनुपर्ने बताए। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सबल बनाउन पत्रकारहरूको भूमिका उल्लेखनीय रहेको पनि उनले चर्चा गरे।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको मूल मर्मअनुसार काम गर्न नसके यसले आतंकवाद, जातिवाद, पृथकतावाद र अराजकतावाद जस्ता नकारात्मक प्रवृत्तिहरूलाई जन्म दिन सक्ने बताए। उनले लोकतन्त्रको संरक्षण गर्नेहरूले यसका चुनौतीहरूप्रति गम्भीर भएर काम गर्नुपर्ने र जनता कमजोर भएमा लोकतन्त्र पनि कमजोर हुने विचार व्यक्त गरे।

सम्मेलनमा दक्षिण एसिया र नेपालको पत्रकारिताको वर्तमान अवस्था र चुनौतीहरूका साथै विश्व परिवेशमा पत्रकारिताको भूमिकाबारे गहन छलफल हुनेछ।

वैशाख २७ गतेदेखि ३० गतेसम्म काठमाडौं, पोखरा हुँदै मुस्ताङसम्म चल्ने यो समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नुपरेका कठिनाइ, अवसर र चुनौतीहरूमा प्रस्तुति र छलफल गरी निष्कर्ष निकालिने लक्ष्य राखिएको छ। समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित विभिन्न देशका पत्रकारहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार