Logo

२७ बैशाख, वीरगञ्ज । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ नकटुवामा रहेको वर्षौंदेखि जीर्ण सिंगहा पुलको पुनर्निर्माण कार्य भोली देखि सुरु हुने भएको छ। स्थानीय युवाहरूको निरन्तर दबाब र विरोधपछि बल्ल सम्बन्धित निकायले काम अघि बढाउने तयारी गरेको हो।

पर्सा र बारालाई जोड्ने प्रमुख मार्गको रुपमा रहेको सिंगहा पुल विगत केहि वर्षदेखि जीर्ण अवस्थामा रहँदै आएको थियो। पुलको अवस्था अत्यन्तै जर्जर हुँदा सर्वसाधारणलाई दैनिक आवतजावतमा समस्या हुँदै आएको थियो। विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरूलाई जोखिम मोलेर यात्रा गर्नुपरेको थियो।

पुल निर्माणको लागि लामो समयदेखि आवाज उठाउँदै आएका स्थानीय युवाहरूको आन्दोलन र दबाबपछि बल्ल सम्बन्धित निकाय जागेको हो। स्थानीय युवा अगुवा रुपेश कुशवाहाले जानकारी दिँदै भने, ‘धेरै समयदेखि माग गर्दै आएका थियौं, अब बल्ल काम सुरु हुने भयो। भोलीदेखि पुलको निर्माण औपचारिक रूपमा सुरु हुन्छ ।’

स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली र निर्माण कम्पनीको समन्वयमा कार्य अघि बढाउने तयारी भइरहेको जनाइएको छ। पुल निर्माण भएपछि बारा र पर्साका हजारौं नागरिकले सहज आवतजावत गर्न पाउनेछन् ।


सम्बन्धित समाचार