
२८ बैशाख, वीरगञ्ज । सङ्घीय सरकारअन्तर्गत पर्ने राजर्षि जनक विश्वविद्यालय, जनकपुरधामबाट सम्बन्धन प्राप्त वीरगञ्जका चारवटा कलेजमा भर्ना भएका स्नातक तहका विद्यार्थीहरूको प्रथम वर्ष, प्रथम सेमेस्टरको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको छ ।
परीक्षा वीरगञ्जस्थित ब्राइट प्लस २ कलेजमा केन्द्रित गरी सञ्चालन भइरहेको छ । परीक्षा सञ्चालनमा स्थानीय प्रशासन, सम्बन्धित कलेज प्रशासन तथा विश्वविद्यालयको पूर्ण समन्वय रहेको छ ।
यस सेमेस्टरको परीक्षामा वीरगञ्ज क्षेत्रका ममता विद्या मन्दिर, वीरगञ्ज स्कुल अफ ल, सनलाइट प्लस २ कलेज, र गेल्वा किन्ज कलेजका गरी कुल ८४ जना परीक्षार्थी सहभागी छन् ।
विश्वविद्यालयले परीक्षाको निगरानी तथा अनुगमनका लागि परिवेक्षकको रूपमा पप्पु कुमार साहलाई वीरगञ्ज पठाएको थियो । साथै, प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव पनि परीक्षा केन्द्रमा उपस्थित थिए ।
परीक्षा व्यवस्थापन र सुरक्षा व्यवस्था सन्तोषजनक रहेको बताइएको छ । सम्बन्धित सबै कलेजहरूले आफ्ना विद्यार्थीहरूलाई समयमै परीक्षा स्थलमा उपस्थित गराई मर्यादित वातावरणमा परीक्षा सञ्चालन गर्न सहयोग पुर्याएका छन् ।
विद्यार्थीहरूको अनुशासन, परीक्षा केन्द्रको उचित व्यवस्थापन र सबै पक्षको समन्वयित प्रयासले यस सेमेस्टरको परीक्षालाई सफल बनाएको विश्वास गरिएको छ ।