Logo

२८ बैशाख, वीरगञ्ज । गौरवशाली पत्रकार संगठन प्रेस सेन्टर नेपाल को केन्द्रीय निर्देशनअनुसार सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमाथि भइरहेका निरन्तर आक्रमण, दमन र हस्तक्षेपको विरुद्धमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गराउन माग गर्दै प्रेस सेन्टर नेपाल मधेस प्रदेश समिति ले मुख्यमन्त्री माननीय सतिश कुमार सिंह लाई ज्ञापनपत्र बुझाएको छ ।

जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश समिति प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाउँदै हाल पत्रकारहरूमाथि भइरहेको दमन, डर, धाकधम्की र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्‍यो।

ज्ञापनपत्रमार्फत प्रदेश समितिले सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न र अभिव्यक्ति स्वतन्त्रतालाई संवैधानिक मर्यादाभित्र संरक्षण गर्न सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेको छ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष, सचिव र अन्य पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो। उनीहरूले मुख्यमन्त्रीसँग भेटवार्ता गर्दै पत्रकारिता क्षेत्रलाई दबाबमुक्त र सुरक्षित बनाउन प्रदेश सरकारको स्पष्ट प्रतिबद्धता माग गरेका थिए।

प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकाेटे मगरकाे नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएकाे टाेलीमा संगठनका उपमहासचिव अनिल मिश्र, उपाध्यक्ष राम एकबाल महरा, महासचिव जिवछ यादव उदासी, सचिव रञ्जित पाण्डेय, काेषाध्यक्ष निरञ्जन मिश्र, पत्रकार महासंघ मधेस प्रदेश महासचिव शैलेन्द्र महताे, महाेत्तरी उपाध्यक्ष ममता शर्मा लगायतको उपस्थिति रहेकाे थियाे ।

मुख्यमन्त्री सिंहले ज्ञापनपत्र ग्रहण गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारशिला भएको उल्लेख गर्दै, सरकार सदैव प्रेसको स्वतन्त्रताको पक्षमा रहेको आश्वासन दिनुभएको थियो।


सम्बन्धित समाचार