Logo

फाइल तस्विर

३० वैशाख,वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा काठ लोड गरिएको एक ट्रकलाई नियन्त्रणमा लिएको छ। छुटपूर्जीभन्दा बढी काठका गोलिया भेटिएपछि ट्रकलाई नियन्त्रणमा लिइएको र यस विषयमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले विस्तृत छानबिन थालेको छ।

स्रोतका अनुसार, काठ व्यापारी अजमुदिन मिया र नुरहसन मियाले ठोरी गाउँपालिकाका विभिन्न क्षेत्रबाट थोरै परिमाणको कटान पूर्जी बनाएर ठूलो मात्रामा काठ कटानी गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाको आधारमा प्रहरीले उक्त ट्रकलाई जाँचका लागि नियन्त्रणमा लिएको हो। स्रोतले जनाए अनुसार, ट्रकमा रहेको काठको परिमाण छुटपूर्जीमा उल्लेख भएको भन्दा धेरै पाइएपछि ट्रकलाई शिलबन्दी गरिएको छ।

शिलबन्दी गरिएको उक्त ट्रक माडी–नारायणगढ हुँदै भैरहवातिर लैजाँदै गर्दा ठोरीमा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। ट्रक र कागजात दुवै शिलबन्दी अवस्थामा रहेकाले चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिले त्यसको परीक्षण गर्ने बताइएको छ। प्रारम्भिक जानकारी अनुसार, ट्रकमा नाप र आकार बिना नै खयर जातका गोलिया अनुमतिभन्दा बढी लोड गरिएको स्रोतको दाबी छ।

स्रोतले काठ तस्करीको कार्य कानूनी प्रावधानको उल्लंघन गर्दै खुलेआम भइरहेको र यसमा तस्कर तथा माफियाहरूको ठूलो संलग्नता रहेको दाबी गरेको छ। राज्यका विभिन्न निकायहरू समेत उनीहरूको प्रभावमा परेको स्रोतको भनाइ छ। राजनीतिक नेतृत्वको संरक्षण र स्थानीय वन कार्यालयदेखि प्रहरीसम्मका कर्मचारीले नजराना लिएर तस्करहरूलाई सहयोग गरिरहेको आरोप पनि स्रोतले लगाएको छ।


सम्बन्धित समाचार