Logo

३१ वैशाख,बारा । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले आर्थिक रूपले विपन्न परिवारकी छोरीको विवाहका लागि सहयोग गरेका छन्।

बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी (भदई) को छोरीको विवाहका लागि पौडेलले भोज सामग्री प्रदान गरेका हुन्। मुटु र टीबी रोगबाट पीडित तथा आर्थिक रूपले कमजोर सहनीको छोरीको विवाहमा पत्रकार पौडेलले २५० जनालाई पुग्ने खाद्य सामग्री र बेहुला बेहुलीका लागि कपडा सहयोग गरेका हुन्।

बुधबार बिहान सोही गाउँपालिकाका राजकिशोर चौधरीको समन्वयमा बेहुलीकी आमा असिया देवी र दाइ छोटेलाल सहनीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो।

ओम विनायक ट्राभल्सका सञ्चालक समेत रहेका पत्रकार पौडेलले आर्थिक अभावका कारण कुनै पनि छोरीको विवाह खल्लो नहोस् भन्ने उद्देश्यले आफूले सकेको सहयोग गरेको बताए। उनले समाजमा व्याप्त भड्किलो विवाह संस्कृतिले विपन्न परिवारलाई समस्या पारिरहेको उल्लेख गर्दै विवाहलाई सरल, सहज र दाइजोमुक्त बनाउनुपर्नेमा जोड दिए।

सहयोग सामग्री पाएपछि खुसी व्यक्त गर्दै बेहुलीकी आमा असिया देवीले समाजमा अच्युत पौडेल जस्ता सहयोगी मन भएका व्यक्तिको उपस्थितिले आफ्नो जस्तो असहाय परिवारलाई छोरीको विवाह सहज रूपमा सम्पन्न गर्न मद्दत पुगेको बताइन्।


सम्बन्धित समाचार