४ जेठ, काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको हो । केरूङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको गाडीबाट दिउँसो करिब साढे १ बजे प्रहरीले उक्त सुन बरामद गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले सुन बरामद भएर भन्सारमा पठाइएको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीका अनुसार अन्दाजी सात किलो ६५३ ग्रामको सुन जस्तो पहेँलो धातु ७ वटा विस्कुट बरामद भएको छ । धातु परीक्षण गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएपनि परिचय खुलाइसकेको छैन ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो बढ्दै गएको हो । विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ ।
















