
१६ जेठ, काठमाडौं । सरकारले भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा साथमा ल्याउन सक्ने नगदको सीमा हटाएको छ। आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत अब भारतीय नागरिकहरूले पनि अन्य विदेशी पर्यटक सरह ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन सक्ने व्यवस्था गरिएको छ।
बजेटमा उल्लेख अनुसार, हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने जो कोही विदेशी नागरिकले अब ५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सहजै ल्याउन सक्नेछन्। यसअघि भारतबाहेक अन्य देशका नागरिकका लागि यस्तो व्यवस्था थिए पनि, भारतीय नागरिकका लागि भने २५ हजार रुपैयाँ अर्थात् झण्डै २०० अमेरिकी डलरको मात्र सीमा तोकिएको थियो।
अब सोभन्दा बढी रकम लिएर नेपाल आउन चाहनेले भन्सार बिन्दुमा त्यसको घोषणा गरेपछि सहजै प्रवेश गर्न सक्नेछन्। बजेटले भन्सार घोषणा प्रणालीलाई सहज बनाउने र विदेशी मुद्रा ल्याउने प्रक्रियामा लचीलोपन दिने उल्लेख गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले यसअघि अर्थमन्त्रीलाई पत्रमार्फत सुझाव दिँदै भारतीय पर्यटकहरूका लागि समेत अन्य विदेशी पर्यटकसरहको मुद्रा सीमा कायम गर्न माग गरेको थियो। महासंघको तर्क थियो कि सीमित नगद सीमा भारतीय पर्यटकका लागि अवरोध बनेको छ।
सरकारी यो निर्णयलाई होटल व्यवसायीहरूले स्वागत गरेका छन्। होटल एसोसिएसन नेपाल (हान) का अनुसार, मुद्रा सीमा हटाउँदा भारतीय पर्यटकको खर्च गर्ने क्षमता बढ्नेछ, जसले पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुर्याउनेछ।
होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरी पन्तले भारतीय पर्यटकसँग बोक्ने भारतीय रुपियाँको सिमा हटाउनु स्वागत योग्य रहेको बताए । २५ हजार भन्दा बढी भारतीय रुपियाँ बोक्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने गरेकोले भारतीय पर्यटक घटेका थिए ।
भारत नेपालको प्रमुख पर्यटन बजार हो। कोरोना महामारीअघि नेपालमा आउने कुल पर्यटकमध्ये लगभग एक तिहाई भारतीय थिए। यस निर्णयले महामारीपछि सुस्ताएको भारतीय पर्यटकको आगमन पुनः उत्साहजनक हुने अपेक्षा गरिएको छ।