Logo

२० जेठ, काठमाडौं । देशभर सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका यातायात व्यवसायीहरू अन्ततः पछि हटेका छन्। गण्डकी प्रदेशको राइडसेयरिङसम्बन्धी नियमावली स्थगन गराउने सरकारी आश्वासनपछि उनीहरूले आन्दोलनको कार्यक्रम फिर्ता लिएका हुन्।

सोमबार राति अबेरसम्म चलेको तेस्रो चरणको वार्तामा सरकारी टोली र यातायात व्यवसायीबीच सहमति बनेको हो। सहमतिअनुसार प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई नियमावली स्थगन गर्न पत्राचार गर्नेछ। यो प्रतिबद्धता पाएका व्यवसायीहरूले चक्काजाम स्थगित गर्ने सहमति जनाएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार पत्राचारको प्रक्रिया सुरु भएसँगै आन्दोलनको कार्यक्रम स्वतः फिर्ता हुनेछ। प्रधानमन्त्री कार्यालयले गण्डकी सरकारलाई पत्र पठाउँछ, अनि गण्डकी सरकारले नियमावली स्थगन गर्छ, स्वाँरले भने, त्यसपछि हामी पनि चक्काजाम फिर्ता लिन्छौं।

वार्ताका क्रममा सहमतिको कार्यान्वयन सुनिश्चित गर्न एक कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउनेछ, त्यसपछि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् प्रदेश सरकारलाई निर्देशन दिनेछ।

सरकारी वार्ता टोलीका संयोजक तथा मन्त्रालयका सहसचिव कृष्ण पन्थले मंगलबार कार्यालय खुल्नेबित्तिकै पत्राचार सुरु हुने विश्वास व्यक्त गरे। “हामीले हाम्रो जिम्मेवारी पूरा गरेका छौं,” पन्थले भने, “अब पहिलो घण्टामै प्रधानमन्त्री कार्यालयबाट पत्र जान्छ, त्यसपछि आन्दोलन पनि फिर्ता हुन्छ भन्ने आशा गरेका छौं।”

सार्वजनिक यातायात प्रभावित हुने सम्भावना देखिएपछि यात्रुहरू पनि अन्योलमा परेका थिए। तर अन्ततः सहमतिको बाटो खुलेसँगै जनजीवन सामान्य हुने संकेत देखिएको छ।


सम्बन्धित समाचार