
२० जेठ,काठमाडौं । पछिल्लो दुई सातामा भारतीय बजारमा प्याजको मूल्य २० प्रतिशतसम्मले बढेसँगै नेपाली बजारमा पनि प्याजको भाउ उकालो लाग्न थालेको छ। भारतीय सञ्चारमाध्यम ‘द इकोनोमिक टाइम्स’ ले भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेकाले मूल्य बढेको जनाएको छ।
उत्पादन र भण्डारणमा वृद्धि भए पनि प्याज महँगो भएको छ। भारतीय व्यापार स्रोतका अनुसार प्याजको अपेक्षित सरकारी खरिदले मूल्य अझै बढ्ने सम्भावना छ।
भारतमा प्याजको मूल्य वृद्धिको असर नेपालमा पनि देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार, वैशाख २१ देखि जेठ ७ गतेसम्म प्रतिकिलो औसत थोक मूल्य ३७ रुपैयाँमा स्थिर रहेकोमा त्यसपछि केही दिन घटेको मूल्य जेठ १९ र २० गते ३९ रुपैयाँ किलो पुगेको छ।
समितिका अनुसार, जेठ १८ मा २३० मेट्रिक टन भारतीय प्याज कालीमाटीमा भित्रिएकोमा जेठ १९ मा १३९ मेट्रिक टन मात्र भित्रिएको देखिएको छ।
आन्तरिक उत्पादनले माग धान्न नसक्दा भारतमा निर्भरता
आलु-प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले भारतीय बजारमा बढेको मूल्यले नेपालमा पनि सोही अनुपातमा मूल्य बढ्ने बताएका छन्। उनले भने, “हाम्रो आन्तरिक उत्पादनले मात्रै बजारको माग नधान्ने भएकाले ठूलो परिमाणमा भारतीय बजारबाट नै प्याज आयात गर्ने गरेका छौं। त्यसकारण स्रोत बजारमै मूल्य बढ्दा हामीकहाँ पनि त्यसले असर गर्छ।”
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार, नेपालमा करिब २० हजार हेक्टर जमिनमा प्याज खेती हुने गरेको छ, जसबाट करिब साढे दुई लाख मेट्रिक टन हाराहारीमा प्याज उत्पादन हुन्छ। तर, आन्तरिक उत्पादनले माग धान्न नपुगेकाले भारतबाट आयात गर्नु पर्ने बाध्यता छ।
भन्सार विभागको तथ्यांक अनुसार, चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा नेपालमा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको ८५ हजार ७८८ मेट्रिक टन प्याज आयात भएको छ। यसमध्ये भारतबाट मात्रै ३ अर्ब ६६ करोड रुपैयाँको प्याज आयात भएको विभागको तथ्यांकले देखाएको छ।