
२२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयास्थित छठघाट परिसरमा आज ’हाम्रो हरियाली अभियान’ ले ४५० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर त्यहाँ आँप, अमला, नीम, गुलमोहर लगायतका बिरुवा रोपण गरी वातावरण संरक्षणमा थप योगदान पु¥याइएको हो ।
झण्डै दुई वर्षअघि छपकैयाको छठघाट आसपासको बाँझो जमिनलाई हराभरा बगैँचामा रूपान्तरण गर्ने संकल्प लिइएको थियो । यस अभियानले वातावरण संरक्षणसँगै स्थानीय समुदायको जीवनस्तर उकास्ने लक्ष्य राखेको छ ।
अहिले सो सपना साकार हुँदै एक हजारभन्दा बढी रुखहरू, पूर्ण घेराबार र जीवन्त पारिस्थितिक प्रणालीसहितको बगैँचामा परिणत भएको छ । अभियानलाई अझ व्यापक बनाउने दृढ संकल्पका साथ काम भइरहेको आयोजकले जनाएको छ ।
यस अवसरमा मधेश प्रदेशसभा सदस्य रहबर अन्सारी, छठघाट समिति अध्यक्ष रविन्द्र महतो लगायतको विशेष उपस्थिति रहेको थियो, भने रामधेनी तिवारी विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।