
२२ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ। अर्थ मन्त्रालयमा आयोजित एक बैठकमा नीति तथा कार्यक्रम, बजेट र प्रमुख लक्ष्यहरू (माइलस्टोन) बीच समन्वय गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाहरूका लागि खरिदसम्बन्धी तयारी कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्। बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा काम छिटो गर्न सहज हुने उनको भनाइ छ।
मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अघि बढाउन थप ऐन कानुन जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भए अनुसार नै खरिदका लागि तयारी प्रक्रिया अघि बढाउन सकिने धारणा व्यक्त गरे।
बैठकमा चालू आर्थिक वर्षको पुँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो।
अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमको सम्बन्धमा रकमान्तर लगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताए। उनले स्रोत सहमति भएका र कागजात पूरा भएका आयोजना तथा कार्यक्रमको सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारको दिन पनि काम गर्ने बताए। साथै, उनले सम्बन्धित मन्त्रालयका सचिवहरूलाई प्रक्रिया पुगेका र हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन अनुरोध गरे।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका सचिवहरूको उपस्थिति थियो।