Logo

२२ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा आफू पूर्ण रूपमा निर्दोष रहेको दाबी गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (जेठ २२ गते) यस प्रकरणमा आफूसहित ९३ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।

गृह जिल्ला रौतहटबाट काठमाडौँ फर्कने क्रममा सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा पूर्वप्रधानमन्त्री नेपालले आफूले कतैबाट एक रुपैयाँ पनि पैसा नलिएको र कुनै मन्त्री वा कसैलाई पनि गलत काम गर्न दबाब नदिएको स्पष्ट पारे। उनले आफूलाई पूर्वाग्रह राखेर फसाइएको आरोपसमेत लगाए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा खरिद प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौजदारी र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहोदाका व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधानअनुसार रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद नेपालको पद निलम्बनमा परेको हो।

आयोगका अनुसार, काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ। आयोगको ठहर अनुसार, उक्त कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले कम्पनीको नाम प्रयोग गरी, कम्पनीको उद्देश्यविपरीत बदनियत राखी आफूसमेतका प्रतिवादीहरूलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पद धारण गरेका व्यक्तिसँगको मिलोमतोमा उक्त जग्गा खरिद प्रकरणमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० विपरीत कार्य भएको छ।

साथै, आयोगले सम्बन्धित निकायका व्यक्ति तथा राष्ट्रसेवकले आफ्नो पदीय ओहोदाको दुरुपयोग गरी आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तिको सम्बन्धमा बदनियत राखी गैरकानुनी निर्णय गरेको पाइएको जनाएको छ।

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद् निर्णयमाथि अख्तियारको धावा स् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो मागदाबी

पतञ्जली जग्गा प्रकरण स् पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रेमबहादुर सिंहविरुद्ध साढे १८ करोड रुपैयाँ भ्रष्टाचार मुद्दा

प्रतिनिधिसभाका चार हेभिवेट सांसद निलम्बनमा स् पूर्वप्रधानमन्त्री नेपालदेखि रास्वपा सभापति लामिछानेसम्म


सम्बन्धित समाचार