
२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पतञ्जली योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा पेश गरेको हो। अख्तियार उच्च स्रोतले नेपालविरुद्धको मुद्दा केहीबेरअघि दर्ता भएको जानकारी दिएको छ।
यो घटना नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो। यसका साथै, मन्त्रिपरिषद्को निर्णयमाथि नै भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि यो पहिलो घटना हो। यसअघि अख्तियारले पतञ्जली योगपीठको जग्गा अनियमिततामाथि अनुसन्धानका क्रममा नेपालसँग बयान लिएको थियो।
के हो आरोप?
पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ। तर, त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन। हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमति दिएपछि यसमा प्रश्न उठेको थियो।
भारतको पतञ्जली योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो। हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो।
२०६६ माघ १८ गते माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलीलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो। त्यतिबेला पतञ्जलीले करिब ६ सय रोपनी जग्गा खरिद गरेको थियो, जसमध्ये कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो। जग्गा किनेको केही महिनामा नै पतञ्जलीले जग्गा बेच्ने निर्णय गर्यो।
कानूनतः हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन। कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ। तर, २०६६ सालमै तत्कालीन सरकारले उक्त जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो, जसलाई अख्तियारले अहिले अनियमितता मानेर मुद्दा दायर गरेको छ।