Logo

२३ जेठ,वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउन १ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ। संघीय सरकारको निर्णयअनुसार हाल वीरगञ्ज भन्सार कार्यालय मातहत रहेका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालय अब एकै निकायमा परिणत हुन लागेका हुन्।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले यो मर्जर साउनदेखि लागू हुने जानकारी दिए। “चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै खालको बजेट रहेकाले पनि असार मसान्तपछि मात्रै गाभिनेछ,” उनले भने। बरुवालले ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)’ र पददर्ता समेत भइसकेकाले साउन १ गतेदेखि यो प्रक्रिया पूर्ण हुनेमा आफूहरू आशावादी रहेको बताए।

५७ बिघा क्षेत्रफलमा फैलिएको सुक्खा बन्दरगाह विश्व बैंकको ८२ करोड ऋण सहयोगमा निर्माण भएको हो। भारतले २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिंक निर्माण गरेको छ, जहाँ सोझै रेलबाट आयातित सामान ल्याइन्छ। सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षका लागि भएको ३ अर्ब ३३ करोड रुपैयाँको व्यवस्थापन ठेक्का सम्झौता आगामी असार मसान्तमा समाप्त हुँदैछ।

यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

स्मरणयोग्य छ कि वीरगञ्ज भन्सार कार्यालय मातहतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ। ११५ बिघामा फैलिएको यो जाँचचौकीको सञ्चालन तथा व्यवस्थापनका लागि टिआरएस हिमालयन लोजी पार्क प्रालिले समितिलाई पाँच वर्षका लागि १ अर्ब ८० करोड ९० लाख १ हजार २०० रुपैयाँ पट्टाबहाल बुझाउने सम्झौता रहेको छ।


सम्बन्धित समाचार