
२३ जेठ, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित सुशील वनस्पति प्रा.लि. कम्पनीबाट अविरल रूपमा निस्कने कालो धुवाँले स्थानीय बासिन्दा पीडित बनेका छन्। उद्योगबाट निस्कने धुवाँको मुस्लोले गर्दा दैनिक जनजीवन कष्टकर बनेको छ भने स्वास्थ्य र व्यापारमा गम्भीर असर परेको छ।
स्थानीय विरेन्द्रप्रसाद कुशवाहाका अनुसार, ‘वनस्पति प्रा.लि. कम्पनीबाट निस्केको धुवाँले पसलमा राखेका सामानहरू फोहोर हुनुका साथै धुवाँको कणले मान्छेहरूको आँखामा विभिन्न किसिमका रोगसँग लड्नु परिरहेको छ। यो धुवाँले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ।’ उनले धुवाँको कारणले गर्दा आँखा पोल्ने, चिलाउने र अन्य स्वास्थ्य समस्याहरू देखिएको बताए ।
अशोक ढाबा लाईन होटेलका सञ्चालक श्यामनन्द पाण्डेको पीडा पनि उस्तै छ। उनी भन्छन्, ‘नास्ता, खाना र अन्य खानेकुरामा धुवाँको कणले धेरै असर गरिरहेको छ। धुवाँका कारण मानिसहरू होटलमा खाना खान आउँदैनन्। होटलका सामानहरू पनि धुवाँको छायाले गर्दा पुरै कालो हुन्छन्।’ उनले धुवाँका कारण श्वासप्रश्वासमा समेत समस्या भइरहेको र व्यापारमा ठूलो नोक्सानी व्यहोर्नु परेको गुनासो गरे ।
सुशील वनस्पति प्रा।लि।बाट निस्कने धुवाँले परवानीपुर वडा नं.२१ का बासिन्दामा चरम असन्तुष्टि बढेको छ। स्थानीयहरूले पटकपटक यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि ठोस कदम नचालिएको गुनासो गरेका छन्। उद्योगबाट निस्कने धुवाँलाई न्यूनीकरण गर्न र यसबाट पर्ने नकारात्मक असरलाई रोक्न तत्काल प्रभावकारी उपायहरू अपनाउनु पर्ने माग स्थानीय बासिन्दाको छ।
वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा पार्ने दूरगामी असरलाई मध्यनजर गर्दै यस विषयमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनु अपरिहार्य देखिन्छ। अन्यथा, परवानीपुरका बासिन्दाहरूले स्वच्छ हावामा सास फेर्न पाउने अधिकारबाट वञ्चित भइरहनेछन्।