१२ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनबाट उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। उपसभापति पदका लागि वाग्लेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
उपसभापति पदमा दाबी गरेका नेता विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएर वाग्लेलाई समर्थन गरेपछि निर्विरोध चयनको बाटो खुलेको हो।
यद्यपि, महिला उपसभापति पदका लागि भने प्रतिस्पर्धा हुने भएको छ। एक पदका लागि इन्दिरा रानामगर, सोविता गौतम, समीक्षा बाँस्कोटा, लिमा अधिकारी र डा. तोसिमा कार्कीबीच चुनावी प्रतिस्पर्धा हुनेछ।
महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरूको मतपरिणाम सार्वजनिक भइसके पनि पदाधिकारीतर्फको उम्मेदवारको प्रारम्भिक नामावली भने अझै सार्वजनिक हुन सकेको छैन। दोस्रो चरणको निर्वाचन कार्यतालिका अनुसार बिहान १ बजे प्रारम्भिक सूची प्रकाशन गर्ने कार्यक्रम रहे पनि सहमतिको प्रयास जारी रहेकाले प्रक्रिया ढिलो भएको हो।
प्रारम्भिक सूची सार्वजनिक भएपछि दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको सूची प्रकाशित गरिनेछ। त्यसपछि विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको नाम प्रविष्ट गरी मतदान सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
उपसभापतिमा वाग्ले निर्विरोध निर्वाचित भएसँगै अब एक महिला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ।
महामन्त्री पदका आकांक्षी शिशिर खनालले उम्मेदवारी फिर्ता लिएका छन्। उक्त पदका लागि मनीष झा, विपिन आचार्य, कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेले उम्मेदवारी दिने तयारी गरेका छन्।
पार्टीभित्र पदाधिकारीमा सहमति कायम गर्ने प्रयास जारी रहेकाले निर्वाचन प्रक्रिया केही ढिलो भएको जनाइएको छ।

















