Logo

१२ असार,काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सर्वसाधारण र चिकित्सकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले ‘हेलो एनएमसी’ नामक अनलाइन गुनासो तथा उजुरी पोर्टल सञ्चालनमा ल्याएको छ। नयाँ प्रणाली लागू भएसँगै अब काउन्सिलमा सामान्य गुनासा, सुझाव वा उजुरी दर्ता गर्न कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार नयाँ पोर्टलमार्फत सर्वसाधारण र दर्तावाला चिकित्सकले घरबाटै गुनासो, सुझाव तथा उजुरी दर्ता गर्न सक्नेछन्। यसले विशेषगरी दूरदराजका सेवाग्राहीलाई समय र खर्च दुवै बचत हुने विश्वास काउन्सिलको छ।

नयाँ व्यवस्थाअनुसार सर्वसाधारणले आफ्नो परिचय खुलाएर वा गोप्य राखेर पनि चिकित्सकविरुद्ध उजुरी दर्ता गर्न सक्नेछन्। यसअघि उजुरी प्रक्रिया झन्झटिलो हुँदा धेरैले आफ्नो गुनासो औपचारिक रूपमा दर्ता गर्न नसकेको अवस्था थियो।

उजुरी दर्ता भएपछि प्रणालीले स्वतः ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराउनेछ, जसको माध्यमबाट उजुरीकर्ताले आफ्नो उजुरीको प्रगति अनलाइनमै हेर्न सक्नेछन्। साथै, छानबिन र कारबाहीको अवस्थाबारे एसएमएस तथा इमेलमार्फत नियमित जानकारी पनि प्रदान गरिनेछ।

दर्तावाला चिकित्सकहरूले doctor.nmc.org.np मा आफ्नो व्यक्तिगत खातामार्फत लगइन गरी गुनासो वा सुझाव दर्ता गर्न सक्नेछन्। त्यस्तै, सर्वसाधारणले नेपाल मेडिकल काउन्सिलको आधिकारिक वेबसाइटमा रहेको ‘हेलो एनएमसी’ पोर्टलमार्फत सहज रूपमा उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलले यो प्रणालीले सेवा प्रवाहलाई थप पारदर्शी, छिटो र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित समाचार