१२ असार,वीरगञ्ज । बारा जिल्लाका सबै १६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र नगरसभा तथा गाउँसभा सम्पन्न गर्दै स्थानीय तहहरूले नयाँ आर्थिक वर्षका लागि विकासको मार्गचित्र प्रस्तुत गरेका हुन्।
यस वर्ष सार्वजनिक गरिएका बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य पूर्वाधार विकास, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन र सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ।
जिल्लाका दुई उपमहानगरपालिकामध्ये जीतपुरसिमरा उपमहानगरपालिकाले सबैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यसपछि कलैया उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ६३ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
नगरपालिकाहरूमध्ये निजगढ नगरपालिकाले १ अर्ब १० करोड रुपैयाँको बजेट ल्याउँदै अग्रस्थानमा रहेको छ। त्यसैगरी महागढीमाई नगरपालिकाले ७२ करोड ८२ लाख, कोल्हवी नगरपालिकाले ७१ करोड ६६ लाख, सिम्रौनगढ नगरपालिकाले ६१ करोड ६३ लाख तथा पचरौता नगरपालिकाले ६१ करोड ४१ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्।
गाउँपालिकातर्फ करैयामाई गाउँपालिकाले सबैभन्दा ठूलो ४५ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको छ। सुवर्ण गाउँपालिकाले ४३ करोड २६ लाख, प्रसौनी गाउँपालिकाले ४१ करोड ३७ हजार र आदर्श कोतवाल गाउँपालिकाले ४१ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
यस्तै, बारागढी गाउँपालिकाले ३९ करोड ७७ लाख, देवताल गाउँपालिकाले ३९ करोड ७० लाख, फेटा गाउँपालिकाले ३९ करोड १६ लाख, परवानीपुर गाउँपालिकाले ३६ करोड ६३ लाख तथा विश्रामपुर गाउँपालिकाले ३५ करोड ५१ लाख रुपैयाँको बजेट विनियोजन गरेका छन्।
स्थानीय तहहरूले सार्वजनिक गरेका नीति तथा कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि, आधारभूत सेवा विस्तार, पूर्वाधार निर्माण, आर्थिक गतिविधि प्रवर्द्धन तथा नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य लिइएको जनाइएको छ।

















