१२ असार,काठमाडौं ।पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार ढकालले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायत व्यक्तिविरुद्ध आफ्नो फेसबुक खातामार्फत विभिन्न टिप्पणी प्रकाशित गरेका थिए।
उनीविरुद्ध इलाका प्रहरी कार्यालय, इटहरी, सुनसरीमा दर्ता भएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही जाहेरीका आधारमा सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी कार्यान्वयन गर्दै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार पक्राउ परेका ढकाललाई आवश्यक अनुसन्धानका लागि सुनसरी पठाइने तयारी गरिएको छ।
ढकाल क्यानडा नेपाल डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध पत्रकार हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















