१२ असार,काठमाडौं । दर्ता नगरी शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) सञ्चालन गरेको आरोपमा प्रहरीले १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालकलाई पक्राउ गरेको छ।
शिक्षा मन्त्रालयको पत्र तथा मन्त्रिपरिषद्को निर्णयका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो तीन दिनमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये १६ जना काठमाडौं, एक जना ललितपुर र एक जना भक्तपुरबाट पक्राउ परेका हुन्। केही कन्सल्टेन्सी सञ्चालक भने अझै फरार रहेका छन्।
पक्राउ पर्नेहरूमा मित्रपार्कस्थित गुरुबा इन्टरनेसनलका विजय अधिकारी, विनय अधिकारी र कृष्ण बुढाथोकी, चाबहिलस्थित लेक्सिकर्न एजुकेसन नेटवर्कका दीपेन्द्र सुवेदी, पास्कल एजुकेसन कन्सल्टेन्सीका सुशीलप्रसाद कुशवाह, मेगाटेक भ्याली एजुकेसनका सन्तोष सिलवाल खत्री, भिक्ट्री एजुकेसनका कृष्ण शाह र दीपक बाँस्तोला, २४ आवर एजुकेसन कन्सल्टेन्सीका नवीन लम्साल, युनिभर्सिटी गेटवेका सन्दीप त्रिपाठी र मुना बिष्ट तथा एपिटोमी एजुकेसन हेल्पलाइनका सञ्जय लामा रहेका छन्।
यस्तै, न्यु प्लाजास्थित स्किल प्वाइन्ट एजुकेसन कन्सल्टेन्सीका प्रवीण बराल र झमक सुवेदी, पुतलीसडकस्थित ड्रिम एजुकेसन कन्सल्टेन्सीका सुदीप न्यौपाने, बागबजारस्थित भाइब्रेन्ट एजुकेसन सर्भिसका डेविड खड्की, ललितपुरको कुमारीपाटीस्थित उरेसी एजुकेसन एन्ड ट्रेनिङ सेन्टरकी मीना गुरुङ, ब्लुम एब्रोड कन्सल्टेन्सीका दीपक महर्जन, भक्तपुरको ठिमीस्थित ग्रिनर एजुकेसन कन्सल्टेन्सीका पीताम्बर सापकोटा तथा सूर्यविनायकस्थित ग्लोबल इम्प्याक्ट एजुकेसनका सुरज चक्रधर पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामाथि शिक्षा ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।
यसअघि पनि करिब एक महिनाअघि दर्ताविहीन रूपमा कन्सल्टेन्सी सञ्चालन गरेको आरोपमा ६८ जनालाई पक्राउ गरिएको थियो। तीमध्ये २७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। शिक्षा मन्त्रालयको निर्देशनमा प्रहरीले दर्ताविहीन शैक्षिक परामर्श संस्थामाथि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।
उता, शैक्षिक परामर्शदाता संस्थाहरूले भने सरकारी कदमप्रति असन्तुष्टि जनाएका छन्। दर्ता प्रक्रियामै रहेका संस्थाका सञ्चालकलाई समेत पक्राउ गरी कारबाही गर्नु कानुनसम्मत नभएको उनीहरूको तर्क छ। साभार-नयाँ पत्रिका

















