
२६ जेठ,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन्। बिरामीको चापअनुसार लामो समयदेखि जनशक्ति थप हुन नसकेको अवस्थालाई सम्बोधन गर्न मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा यो प्रक्रिया सुरु गरेका हुन्।
यसका लागि प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठित आन्तरिक कार्यदलले २ हजार १ सय २ जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण प्रतिवेदन बुझाएको छ। यस प्रतिवेदनमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक रहेको जनाइएको छ।
पाँच वर्षसम्म हरेक वर्ष गर्ने गरी तयार पारिएको यस संगठन संरचनाअनुसार देशको सबैभन्दा ठूलो वीर अस्पतालमा ७ सय ७७ जनशक्ति थपिनेछ। यसले देशको सबैभन्दा बढी बिरामीको चाप खेपिरहेको वीर अस्पताल अन्तर्गतकै ट्रमा सेन्टरमा ९० जनशक्ति थप्न सकिनेछ। त्यस्तै, संघीय राजधानी काठमाडौंकै कान्ति बाल अस्पतालमा ७८ जनशक्ति थपिने गरी प्रतिवेदन तयार पारिएको छ।
देशको संघीय परोपकार प्रसूति अस्पतालमा १ सय ७३ जनशक्ति थप हुनेछन्। यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ सय १७ स्वास्थ्य जनशक्ति थपिनेछन्। कोशी अस्पतालमा १ सय ७२, नारायणी अस्पतालमा ३ सय १८ तथा भेरी अस्पतालमा १ सय ७९ जनशक्ति थप हुनेछन्।
राजविराजको गजेन्द्रनारायण स्मृति अस्पतालमा १ सय ४४ जनशक्ति थपिँदा चितवनको भरतपुर अस्पतालले ४ सय ६५ जनशक्ति पाउनेछ। डडेलधुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी संगठन संरचना गरिएको छ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूमा चाप अत्यधिक भए पनि जनशक्ति लामो समयसम्म थप नहुँदा सेवा प्रवाहमा भइरहेको कठिनाइ केही हदसम्म हल हुने विश्वास व्यक्त गरे। “सरकारी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि यो प्रतिवेदनले महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरेको छु,“ उनले भने, “सम्बद्ध मन्त्रालयहरूसँग आवश्यक समन्वय गरेर यसको कार्यान्वयन गरिनेछ।“ मन्त्री पौडेलले यो वर्ष मात्र नभएर हरेक वर्ष सर्वेक्षण गरिने भएकाले दूरगामी रूपमा जनशक्ति अभावको समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे।
मन्त्री पौडेलले अधिकतम स्वास्थ्य प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्ने गरी संरचना गर्न भनेपछि प्रतिवेदनमा अधिकांश स्वास्थ्य प्राविधिक जनशक्ति थप गर्ने गरी प्रतिवेदन तयार पारिएको हो। यसले विभिन्न अस्पतालहरूमा रहँदै आएका अस्थायी र करारका दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ। २०६६ सालमा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रूपमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन सकेको थिएन। यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।