Logo

२८ जेठ, काठमाडौं । चर्चित पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर क्राइमको आरोपमा अदालतबाट पक्राउ आदेश जारी भएको पुष्टि भएको हो।

हालसम्म उक्त आदेश कुन उजुरीकर्ताको जाहेरीका आधारमा जारी गरिएको हो भन्ने खुलाइएको छैन। तर, पाठकले हालै आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको एउटा सामग्रीलाई लिएर काठमाडौंको नक्सालस्थित हिल्टन होटलले आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको थियो। सो विज्ञप्तिमा होटलले कानुनी कारबाहीको चेतावनी दिएको थियो। यसै घटनासँग सम्बन्धित भएर नै पक्राउ पुर्जी जारी भएको अनुमान गरिएको छ।

पाठकले उक्त सामग्रीमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा हिल्टन होटलसँग सम्बन्धित रहेको दाबी गरेका थिए। साथै उनले जयवीर देउवाको सम्पत्ति तथा त्यसको स्रोतप्रति प्रश्न उठाउँदै सार्वजनिक चासोको विषय बनाएका थिए।

यस घटनाले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारकर्मीको भूमिकासम्बन्धी बहस फेरि चर्किएको छ। पत्रकार पाठकको पक्षबाट यसबारे औपचारिक प्रतिक्रिया आइसकेको छैन भने प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।


सम्बन्धित समाचार