
२८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर बढाउन ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर साढे २ प्रतिशतमा झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता र अल्पकालीन ब्याजदरलाई हेरेर तरलता खिच्ने र पठाउने गरेको छ ।
पछिल्लो समयमा कर्जाको माग बढ्न नसक्दा र रेमिट्यान्स आप्रवाह निरन्तर वृद्धि हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएको छ ।
साताको पहिलो दिन आइतबार ४२ दिने निक्षेप संकलन गरेको केन्द्रीय बैंकले आज पुन ४० अर्बको निक्षेप बोलकबोल गर्ने भएको हो । आज जेठ ७ गते लिएको ५० अर्बको निक्षेप परिपक्क हुँदैछ । यसैगरी केन्द्रीय बैंकले स्थायी निक्षेप मार्फत लिएको पैसा पनि परिपक्क हुने भएपछि ४० अर्ब २१ निक्षेप संकलन आह्वान गरेको हो ।
केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर घटेपछि बोलकबोल मार्फत ब्याजदर निर्धारण गरी बढाउन खोजेको हो । निक्षेप संकलन मार्फत तरलता खिचेपछि तरलता घट्ने बित्तीकै बैंक वित्तीय संस्थाले धेरै ब्याजको माग गर्छन् । त्यसपछि ब्याजदर बढ्न जान्छ । यो साताको आइतबार जारी भएको निक्षेप संकलन उपकरणको औसत ब्याजदर २ दशमलव ९९३५ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बुधबारसम्ममा केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको ३ खर्ब ९७ अर्ब रुपैयाँ थुप्रिएको छ । यो रकम मध्ये २ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलनको हो भने एक खर्ब ४१ अर्ब रुपैयाँ स्थायी निक्षेप संकलनको हो ।