Logo

२८ जेठ, वीरगञ्ज । वीरगञ्ज नाकाबाट दैनिक लाखौँको कारोबार हुने भए पनि भन्सार जाँचपास प्रक्रियामा ढिलाइ, दोहोरो प्रक्रिया र पूर्वसूचनाको अभावले उद्योगी तथा व्यापारीहरूले समस्या भोग्नुपरेको गुनासो गरेका छन्।

भन्सार जाँचपास परीक्षण कार्यालय त्रिपुरेश्वरले आयोजना गरेको एक कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार प्रक्रियामा स्पष्टता, पारदर्शिता र द्रुत सेवा प्रवाहको आवश्यकतामा जोड दिए। उनले निजी क्षेत्रले ढिलासुस्ती, दोहोरो परीक्षण, र अभिलेख व्यवस्थापनको अभाव जस्ता विभिन्न चुनौतीहरू सामना गरिरहेको बताए। यी समस्याहरूको समाधानका लागि भन्सार जाँचपास परीक्षण प्रणालीको आवश्यकता रहेको उनको भनाइ थियो।

कार्यक्रममा भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख चिरञ्जीवी अधिकारीले व्यवसायीहरूका गुनासो र सुझावहरूलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न र व्यवसायीहरूको समस्या समाधान गर्न कार्यालय निरन्तर सक्रिय रहेको बताए। अधिकारीले भन्सार ऐन, नियम, कार्यविधि र निर्देशिकाको पालना गर्दै व्यापार सहजीकरण, राजस्व सङ्कलन अभिवृद्धि, व्यापारिक छल न्यूनीकरण र जोखिम व्यवस्थापनमा विशेष जोड दिने उल्लेख गरे।

यस कार्यक्रमको मुख्य उद्देश्य भन्सार प्रणालीलाई अझ पारदर्शी, प्रभावकारी र व्यवसायमैत्री बनाउनु थियो। व्यापारीहरूका गुनासो सम्बोधन गर्दै व्यापारिक लागत घटाउने र राजस्व सुरक्षामा टेवा पुर्याउने विषयमा सुझावहरू सङ्कलन गरियो।

कार्यक्रममा भन्सार प्रशासक दीपक लामिछाने, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल र प्रमुख प्रशासकीय अधिकृत मनोज उपाध्याय लगायतले आ(आफ्ना धारणा राखेका थिए। वक्ताहरूले भन्सार प्रणालीमा देखिएका व्यवहारिक समस्याहरू समाधान गर्न सरोकारवालाहरूबीच समन्वय आवश्यक रहेकोमा जोड दिए।


सम्बन्धित समाचार