३ असार,सिम्रौनगढ।बाराको सिम्रौनगढ नगरपालिका–९, टोल बसवरिया स्थित प्रसिद्ध झरोखर पोखरी नजिकै ‘मनसुन–५’ अन्तर्गत बिपद् व्यवस्थापनसम्बन्धी अभ्यास सम्पन्न भएको छ।
अभ्यास कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद् व्यवस्थापन समिति अध्यक्ष वसन्त अधिकारीले प्राकृतिक बिपद् आइपरेपछि मात्र चिन्ता गर्नुको सट्टा पहिल्यैदेखि तयारी अवस्थामा रहनु आवश्यक रहेको बताए। उनले परिवारदेखि स्थानीय तह हुँदै जिल्लास्तरसम्म बिपद् व्यवस्थापनका सामग्रीहरू पूर्व तयारीमा राख्नुपर्नेमा जोड दिए । साथै, बिपद् आउँदा कसरी जोगिने भन्ने विषयमा समाजमा विभिन्न अन्तरक्रिया कार्यक्रम आयोजना गरी जनतालाई सचेत गराउनु पनि उत्तिकै जरुरी रहेको उनले बताए ।
कार्यक्रम सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न भएको हो। अभ्यास अन्तर्गत झरोखर पोखरीमा बाढीबाट कसरी बाँच्ने र अरूलाई कसरी उद्धार गर्ने भन्ने प्रयोगात्मक अभ्यास प्रस्तुत गरिएको थियो। अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी ४० जना सुरक्षाकर्मीले भाग लिएका थिए।
कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र प्यासी, नेपाली सेनाका बारा प्रमुख सेनानी अशोक कुमार क्षेत्री, सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा, सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी, डिएसपी विजय अमात्य, ईप्रका सिम्रौनगढका प्रमुख पवन पछाई, सशस्त्र प्रहरी बीओपी गोलागञ्जका प्रमुख ईश्वर कार्की लगायत विभिन्न जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














