१ असार, काठमाडौँ । अमेरिका र इरानबिच विगत केही महिनादेखि जारी तनाव र सैन्य टकराव अन्त्यका लागि दुवै देशका अधिकारीहरू एउटा प्रारम्भिक सहमतिमा पुगेका छन् ।
आइतबार भएको यस ऐतिहासिक समझदारीसँगै अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र विश्वकै महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पुनः खुला गरिने भएको छ । यो खबर सार्वजनिक हुनासाथ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत इरानसँगको सम्झौता पूरा भएको घोषणा गरेका हुन् । ट्रम्पको उक्त घोषणाअघि यस वार्तामा मध्यस्थकर्ताको भूमिका निभाएभएका पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमबार बिहानै सम्झौता भएको जानकारी दिएका थिए । यो समझदारी पत्रमा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।
सम्झौताका विस्तृत सर्तहरू गोप्य राखिए पनि पाकिस्तानी प्रधानमन्त्री सरिफका अनुसार यसले लेबनानसहित सबै मोर्चाहरूमा भइरहेका सैन्य कारबाहीहरूलाई तत्काल र स्थायी रूपमा बन्द गर्न आह्वान गरेको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले एक विज्ञप्ति जारी गर्दै सोमबार रातिदेखि नै लेबनानसहित सबै क्षेत्रमा युद्ध र सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने जनाएको छ। यद्यपि, इजरायलले भने यस घोषणाप्रति हालसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन ।
राष्ट्रपति ट्रम्पले महिनौँदेखि बन्द रहेको स्ट्रेट अफ होर्मुज शुक्रबारदेखि खुला हुने र इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी अन्त्य गर्न आदेश दिएको बताएका छन् । ट्रम्पले लेखेका छन्, ‘विश्वका पानीजहाजहरू, आफ्नो इन्जिन सुरु गर । अब तेल बग्न देउ!’। यस घोषणासँगै सोमबारको सुरुवाती कारोबारमा ब्रेन्ट क्रुड र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियटको मूल्यमा ४ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ भने एसियाली सेयर बजारमा उछाल आएको छ ।
यो प्रारम्भिक सम्झौता भए पनि इरानको परमाणु कार्यक्रमको भविष्य भने आगामी ६० दिने वार्ताको अवधिबाट मात्रै टुङ्गो लाग्नेछ । इरानका उपविदेशमन्त्री काजेम गरिबाबाडीले यस अवधिमा प्रतिबन्ध फुकुवा गर्ने र परमाणु कार्यक्रमका जटिल विषयमा थप विस्तृत वार्ता हुने बताएका छन् । अमेरिकी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले सम्झौताको प्रशंसा गर्दै कुनै पनि परमाणु सम्झौतालाई समीक्षा र मतदानका लागि कंग्रेसमा पठाइने स्पष्ट पारेका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमाथि पहिलो आक्रमण गरेयता यस क्षेत्रमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । इरानले पनि अमेरिकी बेस क्याम्पहरूमा आक्रमण गर्नुका साथै स्ट्रेट अफ होर्मुज बन्द गरेर विश्वव्यापी ऊर्जाको मूल्य बढाइदिएको थियो । आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि बढ्दो इन्धनको मूल्यले सिर्जना गरेको राजनीतिक दबाबका बिच ट्रम्प प्रशासनले यो सम्झौता अघि बढाएको विश्लेषण गरिएको छ ।
सम्झौताको मस्यौदाअनुसार अमेरिकाले इरानको रोक्का रहेको २५ अर्ब डलर फुकुवा गर्न सहमति जनाएको दाबी गरिएको छ । यद्यपि, बाइडेन प्रशासनका पूर्व अधिकारीहरूले भने इरानलाई महत्त्वपूर्ण छुट दिएको भन्दै यस कदमको आलोचना गरेका छन् ।














