Logo

१३ असार, काठमाडौं। सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन्।

यसले गर्दा राजधानीको व्यस्त न्यूरोड क्षेत्रको यातायात प्रभावित बनेको छ। यसअघि असार ५ गतेदेखि आन्दोलन स्थगित गरेका व्यवसायीहरूले सरकारले बजेट संशोधनका बेला आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएको बताएका थिए। तर, माग पूरा नभएपछि उनीहरू फेरि सडकमा उत्रिएका हुन्।

व्यवसायीका मुख्य मागहरू?

२ प्रतिशत विलासिता कर खारेजः सरकारले बजेटमार्फत सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासिता कर खारेज हुनुपर्ने। यसअघि १० लाखभन्दा माथिका गहनामा मात्र लाग्ने यो कर अब जुनसुकै मूल्यका गहनामा लाग्न थालेको छ। बैंक वा होलसेल पसलले ढिक्का सुन बेच्दा पनि यो कर लागु हुने गरेको छ। यसले गर्दा ग्राहकले कम्तीमा ६ प्रतिशत विलासिता शुल्क तिर्नुपर्ने अवस्था आएको व्यवसायीको भनाइ छ। बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट खारेजस् बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि खारेज गरिनुपर्ने माग छ ।

आगामी रणनीति

व्यवसायीहरूले असार मसान्तभित्र आफ्ना माग सम्बोधन नभए विभिन्न विषयगत समूह मार्फत साझा संघर्ष र सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसले आगामी दिनमा सुनचाँदी व्यवसायसँग सम्बन्धित सेवा थप प्रभावित हुन सक्ने संकेत दिएको छ।


सम्बन्धित समाचार