
१७ असार, काठमाडौं । नेपालको सेयर बजारमा लगातार तीन दिनदेखि वृद्धि जारी छ।
मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंकले बढेर २६६० अंकमा पुगेको छ। यसअघि आइतबार २६ अंक र सोमबार ९ अंकले बजार बढेको थियो।
कारोबार रकममा पनि वृद्धि
परिसूचकसँगै मंगलबार कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। मंगलबार बजारमा अधिकांश कम्पनीको मूल्य बढेको छ। २१७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको मात्र घट्यो। अधिकांश सेक्टरका सूचकहरूमा वृद्धि देखिएको छ। विशेषगरी लगानी समूह सर्वाधिक २.३८ प्रतिशतले बढेको छ।
अन्य समूहमध्ये बैंकिङ १.०९%, विकास बैंक १.२१%, फाइनान्स ०.५५%, होटल तथा पर्यटन ०.५७%, हाइड्रोपावर १.३८%, जीवन बीमा १.१२%, माइक्रोफाइनान्स २.२२%, निर्जीवन बीमा १.०५%, र अन्य ०.४८% ले बढेका छन्। यद्यपि, उत्पादन तथा प्रशोधन ०.०७% र व्यापार समूह ०.६१% ले भने घटेका छन्।
आज सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.८७% ले बढेको छ। त्यस्तै, बरुण हाइड्रोपावरको ८.४१%, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१% र सपोर्ट माइक्रोफाइनान्सको ८% ले वृद्धि भएको छ।