
१८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापनका लागि आज ६० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।
मौद्रिक व्यवस्थापन विभागले ६३ दिन अवधिको निक्षेप संकलन बोलकबोल उपकरण मार्फत यो रकम खिच्न लागेको हो। यो प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुनेछ। केन्द्रीय बैंकले न्यूनतम १० करोड रुपैयाँ र सोभन्दा माथि ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ।
राष्ट्र बैंकले आह्वान गरेको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँड गरिनेछ।
यो असार महिनामा राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि चालेको छैटौँ कदम हो। यसअघि असार १ गते ४० अर्ब, असार ४ गते ९० अर्ब, असार ८ गते ६० अर्ब, असार ११ गते ५० अर्ब र असार १५ गते ३० अर्ब रुपैयाँ बजारबाट खिचेको थियो।