
१८ असार, काठमाडौं । संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा भएको हेरफेरसँग जोडिएको ‘चलखेल’ को छानबिन हुने कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बताएका छन्।
बुधबार कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। कार्यवाहक प्रधानमन्त्री सिंहले निजामती विधेयकमाथि ‘तलमाथि’ भएको कुरा बाहिर आएको स्वीकार गर्दै यस विषयमा छानबिन गरिने र दोषी जोसुकै भए पनि कारबाही हुने स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ (सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको दुई वर्षसम्म सरकारी नियुक्ति लिन नपाउने)को व्यवस्था गरिएको थियो। तर, यसमा ‘बाहेक’ शब्दको प्रयोगले समस्या सिर्जना गरेको र उक्त प्रावधान निष्प्रभावी भएको आरोप लागेको छ।
सिंहले यस सन्दर्भमा संविधान निर्माणमा हस्ताक्षर गर्ने व्यक्तिहरूले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा व्यक्त गरे। साथै, उनले सरकारको आलोचना गर्ने नेताहरूलाई आफू सरकारमा हुँदा गरेका कार्यहरू सम्झन पनि आग्रह गरे।