Logo

१६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई प्रवाह गरिने सेवालाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन तथा विश्वविद्यालयभित्र विद्यार्थीको सहभागिता बढाउन व्यापक सुधारका कार्यक्रम अघि बढाएको छ ।

त्रिविका निमित्त रजिष्ट्रार प्रा.डा.महानन्द चालिसेले विश्वविद्यालय अनुदान आयोगलाई पठाएको विवरणअनुसार विश्वविद्यालयले हालको नियम संशोधन तथा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायमा प्रक्रिया अघि बढाएको हो ।

शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन भित्र ‘स्टुडेन्ट काउन्सिल’ संयन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

यसका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ र त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० मा व्यवस्था भएबमोजिम हरेक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन मात्र आधिकारिक रहने व्यवस्था रहेको र दलीय विद्यार्थी संगठनहरूलाई आधिकारिक रूपमा कुनै पनि संरचना उपभोग गर्न नदिइने स्पष्ट पारिएको छ ।

यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाइएको पाइएमा तत्काल हटाउन भन्दै त्रिविले २०८३ असार १५ गते नै पत्राचार गरिसकेको छ । ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ अन्तर्गत त्रिवि ऐन, २०४९ को दफा ८ को (प) मा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीमध्ये १ जना महिलासहित २ जना सदस्य रहने व्यवस्था रहेकाले नयाँ काउन्सिल संयन्त्रको विकास गर्न विद्यमान नियममा संशोधन आवश्यक देखिएको र त्रिवि सभाले सम्बन्धित नियम पारित गरेपश्चात यो प्रक्रिया द्रुत गतिमा अगाडि बढ्ने जनाइएको छ ।

शैक्षिक तथा प्रशासनिक सुधारतर्फ त्रिविले परीक्षा नियन्त्रण कार्यालयमार्फत ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदनको अवस्थाबारे विद्यार्थीले आफ्नै मोबाइल एप वा वेबसाइटबाट जानकारी लिन सक्ने प्रणाली विकास गरिरहेको छ ।

यस अन्तर्गत विद्यार्थीले आफ्नो नाम, जन्ममिति, बाबुको नाम र रजिस्ट्रेसन नम्बर राखेर आवेदनको प्रगति हेर्न सक्ने व्यवस्था अन्तिम चरणमा पुगेको छ । साथै, तोकिएको समयसीमाभित्र परीक्षा नतिजा प्रकाशन गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ भने ट्रान्सक्रिप्टमा मार्कसिट र रजिस्ट्रेसन कार्डबीच विवरण फरक परेमा पनि आवेदन दिएको १५ दिनभित्र सेवा उपलब्ध गराउने तयारी भइरहेको छ ।

हाल निर्धारित शैक्षिक क्यालेन्डर अनुरूप नै परीक्षाहरूका नतिजा तोकिएको सीमाभित्रै प्रकाशन भइरहेको र विवरणहरूमा एकरूपता भएका विद्यार्थीहरूलाई आवेदन दिएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आइएको समेत त्रिविले स्पष्ट पारेको छ ।

स्नातक र स्नातकोत्तर तहको नतिजा प्रकाशनसम्बन्धी कार्यलाई थप व्यवस्थित बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको मापदण्डअनुसार निर्णय कार्यान्वयन भइरहेको छ ।

विद्यार्थीका समस्या र गुनासाहरूलाई तत्काल सम्बोधन गर्न त्रिविले २४सै घण्टा सञ्चालन हुने नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

यो प्रणाली अन्तर्गत फोन, मोबाइल एप, पोर्टल र सामाजिक सञ्जालमार्फत सहजै गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाइनेछ ।

यसका साथै विश्वविद्यालयको आधिकारिक वेबसाइटमा नियम, सूचना र सेवा सम्बन्धी विवरणहरू नियमित रूपमा अद्यावधिक गरिनेछ, जसले गर्दा विद्यार्थीहरूले सही र आधिकारिक सूचना समयमै प्राप्त गर्न सक्नेछन् ।


सम्बन्धित समाचार
भर्खरै