Logo

१६ असार, काठमाडौँ । नेपालको पर्यावरण र वन्यजन्तु संरक्षण क्षेत्रलाई थप आधुनिक र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यका साथ सरकारले एक महत्त्वपूर्ण कदम चालेको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गिता चौधरीले कोषको सदस्य पदमा तीन जना स्थापित अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई मनोनयन गर्नुभएको छ ।मनोनित हुनेहरूमा बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, जैविक विविधता विज्ञ डा। एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइट रहनुभएको छ ।

कोषको संस्थागत साख बढाउन र विश्वस्तरीय प्रविधिलाई नेपाल भित्र्याउन यो निर्णय गरिएको सरकारको भनाइ छ ।नवनियुक्त सदस्यहरू नेपालको प्राकृतिक भूगोल र वन्यजन्तु संरक्षणको क्षेत्रमा लामो अनुभव बोकेका व्यक्तित्वहरू हुनुहुन्छ । बेलायतका लर्ड क्यामोस ‘यूके नेपाल ट्रस्ट’ का अध्यक्ष हुनुहुन्छ भने डा। डाइनरस्टाइनले सन् १९७० र ८० को दशकदेखि नै चितवनमा गैंडा र बाघको अनुसन्धान गर्नुका साथै प्रसिद्ध ‘तराई आर्क ल्यान्डस्केप’ को अवधारणा विकासमा मुख्य भूमिका खेल्नुभएको थियो ।

त्यस्तै, अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन प्राडा विन्डी राइट विगत एक दशकदेखि नेपालमा सालक संरक्षण र मानव–वन्यजन्तु बीचको द्वन्द्व घटाउने कार्यमा सक्रिय हुनुहुन्छ ।यो उच्चस्तरीय मनोनयनसँगै नेपालले जलवायु परिवर्तनका समसामयिक चुनौतीहरू र वैज्ञानिक वन्यजन्तु व्यवस्थापनका क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास लिइएको छ ।

मन्त्री चौधरीका अनुसार, यी स्थापित अनुहारहरूको आगमनले कोषको कार्यक्षमता बलियो हुनेछ ।साथै, कोषलाई अझ व्यवस्थितबनाउनका लागि छिट्टै कर्मचारी प्रशासन विनियमावली समेत संशोधन गर्ने तयारी सरकारले गरेको छ ।यो कदमले नेपालको संरक्षण अभ्यासलाई अन्तर्राष्ट्रिय जगतसँग सिधा जोड्ने मार्गप्रशस्त गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै