१६ असार, काठमाडौँ । मुलुकभर मनसुनी वायु सक्रिय भएसँगै आज र भोलि देशका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै एक विशेष बुलेटिन जारी गर्दै देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सावधानी र पूर्वतयारी अपनाउन सचेत गराएको छ ।
बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले मनसुनी गतिविधि बढेको विभागको विश्लेषण छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एक–दुई स्थानमा भने ‘भारी वर्षा’ समेत हुन सक्ने विभागले जनाएको छ।
यसैगरी, देशका पहाडी र तराई भूभागका धेरै स्थानहरूमा तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम स्तरको वर्षा जारी रहने प्रक्षेपण गरिएको छ ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार अहिले मनसुनी वायु विशेष गरी लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा केन्द्रित हुँदै गएको छ । सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उनले बिजुली चम्केको घनत्व लुम्बिनी, पश्चिम चुरे र तराई क्षेत्रमा बढी देखिएको उल्लेख गरेका छन् ।
विज्ञ उप्रेतीका अनुसार सुदूरपश्चिमको कञ्चनपुरस्थित हनुमाननगरमा पछिल्लो ६ घण्टामै १०९ मिलिमिटर (मिमि) वर्षा रेकर्ड भइसकेको छ । लुम्बिनीको पश्चिमी भूभागदेखि सुदूरपश्चिम क्षेत्रमा आज राति र भोलि बिहानीपखको समयमा थप बढी वर्षा हुने पूर्वानुमान गरिएको छ । यद्यपि, मध्य मधेसका क्षेत्रमा भने आगामी दुई दिन ठूलो वर्षाको सम्भावना नरहेको उनले प्रस्ट पारेका छन् ।
लगातारको भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय र पहिरोको जोखिम उच्च रहेको छ भने शहरी तथा तराई क्षेत्रहरूमा डुबानको खतरा बढेको छ । देशका ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह अचानक बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।
विभागले सम्भावित प्राकृतिक विपद्का कारण नागरिकको दैनिक जनजीवन, कृषि कार्य, जनस्वास्थ्य र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने चेतावनी दिएको छ। साथै, नदी क्षेत्र आसपास भइरहेका निर्माण कार्य रोक्न र सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा जुट्न अपिल गरिएको छ ।

















