Logo

१६ असार, कपिलवस्तु । हुलाकी सडकखण्ड अन्तर्गत कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको ‘शिवपुरी’ बस महाराजगञ्ज नगरपालिका–२ गैडहवामा अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा घाइते भएका यात्रुहरूको टाउको, हात, खुट्टा, छाती र कम्मर लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेकाले प्रारम्भिक उपचारपछि घर फर्किसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार बसमा चालकसहित कुल ४६ जना यात्रु सवार थिए । घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पुर्‍याइएको थियो । त्यहाँ प्राथमिक उपचार गरिएपछि थप उपचार आवश्यक देखिएका केही गम्भीर घाइतेहरूलाई भैरहवास्थित मेडिकल कलेज रिफर गरिएको डीएसपी सिंहले जानकारी दिए ।

दुर्घटनालगत्तै जिल्लाबाट खटिएको प्रहरी टोलीले क्रेनको सहायताले सडकमा पल्टिएको बसलाई हटाएको थियो । बस हटाएसँगै अवरुद्ध बनेको हुलाकी सडकखण्डमा दुवैतर्फको सवारी आवागमन पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्न प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।


सम्बन्धित समाचार