
१८ असार, काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको ‘बदमासी’ बारे छानबिन गर्न नेपाली कांग्रेसका सांसदहरूले उच्चस्तरीय संसदीय समितिको माग गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा कांग्रेस सांसद हृदयराम थानीले यो माग राखेका हुन्।
सांसद थानीले यो ठूलो चलखेल एक जना व्यक्तिले मात्र चाहेर सम्भव नहुने भन्दै यसको पछाडि ठूलै समूहको संलग्नता रहेको आशङ्का व्यक्त गरे। ‘निजामती सेवा विधेयकमा भएको छेडखानीका विषयमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाइनु पर्दछ’ उनले बैठकमा भने।
समितिबाटै यस्तो ‘षड्यन्त्र’ भएको सुन्दा दुःख लागेको बताउँदै उनले समितिका सभापति र सचिवले आफूलाई जानकारी नभएको भन्दै पन्छिन नमिल्ने बताए। ‘समितिका टाठोबाठो सभापति, सचिवले यो विषय जानकारी छैन भन्न मिल्दैन,’ उनले थपे, ‘उहाँहरूले हामीलाई थाहा भएन कसरी भन्न सक्नुभयो?’
सांसद थानीले निजामती सेवा विधेयकमा भएको चलखेलमा सामेल भएकाहरूलाई कारबाही हुनुपर्ने र यसले संसदको ‘धज्जी उडाएको’ जिकिर गरे। उनले सभापतिले यस कार्यमा संलग्न ‘कोर टिम’ बारे पनि जानकारी गराउनुपर्ने माग गरेका छन्।