
१९ असार, काठमाडौं । नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
आज क्वालालम्पुरमा भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो।
सहज जितका नायक परिमार्जन यादव
मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा परिमार्जन यादवले नटआउट ५९ रनको उत्कृष्ट योगदान दिए। मलेसियाका लागि नागिनेश्वरन सत्नकुमारनले एकमात्र विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भएको थियो। मलेसियाका मुहम्मद फतुल मुइनले सर्वाधिक ३८ रन बनाए। नेपालका अभय यादवले ४ र शुभम् खनालले ३ विकेट लिँदै मलेसियालाई सस्तैमा समेट्न महत्त्वपूर्ण भूमिका खेले।
फाइनलमा प्रतिस्पधीको पर्खाइमा नेपाल
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ। सिङ्गापुरले हङकङले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको छ।
नेपाल समूह एु मा सबै खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो। यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। समूह बी बाट हङकङ शीर्ष स्थानमा र मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका थिए। १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल आगामी शनिबार हुनेछ।