
१९ असार काठमाडौं । नेपालमा पहिलो पटक स्थलमार्ग हुँदै हेलिकप्टर आयात गरिएको छ। चीनबाट खरिद गरिएको यो हेलिकप्टर जाँचपासका लागि सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार नाकामा आइपुगेको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले हेलिकप्टर भन्सारमा आइपुगेको पुष्टि गरे। यद्यपि, भन्सार जाँचपासको प्रक्रिया भने बाँकी रहेको र आवश्यक सबै कागजात पूरा भएपछि मात्र अगाडि बढ्ने उनले बताए।
भन्सार शुल्क ४ करोड भन्दा बढी
तातोपानी भन्सार व्यवस्थापनको ठेक्का लिएको सिल्क ट्रान्स कम्पनीका शाखा प्रमुख अनिरुद्र थापाका अनुसार यो हेलिकप्टर माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरी बाइ रोड कन्टेनरमा ल्याएको हो। हिजो बुधबार मात्रै यो नेपाली सिमानामा प्रवेश गरेको थियो।
थापाले भन्सार प्रक्रिया पूरा भएपछि एक–दुई दिनमै यसलाई उडाएर काठमाडौँ लैजाने तयारी भइरहेको जानकारी दिए। यस हेलिकप्टरको भन्सार शुल्क चार करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ।
आयातकर्ता कम्पनी माउन्टेन हेलिकप्टर्सका रामचन्द्र भुसालले आज बिहीबार हेलिकप्टरको भन्सार जाँचपास गरिने बताए। भुसालका अनुसार यो हेलिकप्टर एयरबस कम्पनीको हो र यसलाई विशेष गरी पर्यटन प्रयोजनका लागि ल्याइएको हो। एयरबसको हेलिकप्टर उत्पादन प्लान्ट चीनको तियाजिन सहरमा रहेको छ।