Logo

२१ असार,वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल र प्रशोधित तेलको आयात तथा निर्यातमा उल्लेख्य वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, गत वर्षको तुलनामा यस वर्ष भटमासको कच्चा तेलको आयात ६१३.४१ प्रतिशतले बढेको छ भने प्रशोधित भटमासको तेलको निर्यातमा पनि निकै ठूलो वृद्धि देखिएको छ।

भटमासको कच्चा तेल आयातमा भारी वृद्धि
चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै रु ५२ अर्ब ५८ करोड मूल्य बराबरको भटमासको कच्चा तेल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ४५ अर्ब २१ करोड बढी हो, जुन ६१३.४१ प्रतिशतको वृद्धि हो। गत वर्ष यसै अवधिमा जम्मा रु सात अर्ब ३७ करोडको भटमासको कच्चा तेल आयात भएको थियो।

प्रशोधित भटमास तेलको निर्यातमा पनि उछाल
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, व्यवसायीहरूले भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुनः निर्यात गरेको पाइएको छ। चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै ५५ अर्ब तीन करोड मूल्य बराबरको २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर प्रशोधित भटमासको तेल निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा जम्मा रु आठ करोड ८३ लाख मूल्य बराबरको चार लाख ६४ हजार १३८ लिटर मात्र निर्यात भएको थियो।

सूर्यमुखी तेलको आयात र निर्यात
चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै रु नौ अर्ब ७५ करोड मूल्य बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको सोही समयमा भने रु आठ अर्ब चार करोडको आयात भएको थियो।

यसैगरी, चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रु नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर मात्रै सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो।

 


सम्बन्धित समाचार