
२२ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २५ जिल्लामा बाढीको जोखिम रहेको भन्दै ‘एल्लो अलर्ट’ जारी गरेको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार, कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब हाल सतर्कता तहभन्दा तलै छ। यद्यपि, नारायणी र कर्णाली जलाधारका केही जलमापन केन्द्रमा जलस्तर बढ्दो क्रममा रहेको जनाइएको छ।
कुन जिल्लाहरू जोखिममा?
महाशाखाका अनुसार, आज कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्यूठान, जाजरकोट, दैलेख र आसपासका जिल्लाहरूमा बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च देखिएको छ। त्यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, पाल्पा र आसपासका जिल्लाहरूमा बहने ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहेकोले यी क्षेत्रका तटीय बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिइएको छ।
समग्रमा, उल्लिखित २५ जिल्लालाई एल्लो अलर्टको चेतावनी दिइएको छ, जसले सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गर्दछ।