१२ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्याण्ड्समा आयोजना हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तानका रूपमा रहेका छन् ।
क्यानले सार्वजनिक गरेको १५ सदस्यीय मुख्य टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन गरिएको छ । टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख र गुल्सन झा समावेश छन् ।
त्यस्तै, बलिङ र ब्याटिङ दुवैमा अनुभवी करन केसी र सोमपाल कामीसहित नन्दन यादव, ललित राजवंशी, भीम शार्की, अर्जुन कुमार र विनोद भण्डारीले टोलीमा स्थान बनाएका छन् । मुख्य टोलीबाहेक क्यानले पाँच जना खेलाडीलाई रिजर्भमा राखेको छ। जसमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन् ।
विश्वकप छनोटको यात्रालाई बलियो बनाउने लक्ष्यका साथ घोषित यो टोलीले नेदरल्याण्ड्सको मैदानमा नेपालको चुनौती प्रस्तुत गर्नेछ । टोली घोषणा भएसँगै नेपाली क्रिकेट समर्थकहरूमा प्रतियोगिताको उत्साह थप बढेको छ ।

















