Logo

१२ असार,वीरगञ्ज । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा ‘विश्वसनीय, मर्यादित र व्यवसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा र लैङ्गिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ शुक्रबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताए। उनले सत्य, तथ्य र जनहितलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पत्रकारिता आचारसंहिताको पालना नै विश्वसनीय पत्रकारिताको आधार भएको उल्लेख गरे।

मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाले पत्रकारिताको विश्वसनीयता जोगाउन सञ्चारमाध्यम र पत्रकार दुवैले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताइन्। उनले मर्यादित भाषा प्रयोग, लैङ्गिक संवेदनशीलता र व्यावसायिक नैतिकताले पत्रकारितालाई थप प्रभावकारी बनाउने धारणा राखिन्।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले बदलिँदो सञ्चार परिवेशमा तथ्यमा आधारित, सन्तुलित र उत्तरदायी पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए। उनले पत्रकारिताको गरिमा र जनविश्वास कायम राख्न व्यावसायिक नैतिकता अपरिहार्य रहेको उल्लेख गरे।

नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दासले जिल्लास्तरका पत्रकारको क्षमता अभिवृद्धिका लागि यस्ता अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताए। कार्यक्रममा राज करण महतोले पनि सत्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका मुख्य प्रशिक्षक वरिष्ठ पत्रकार धर्मेन्द्र झाले पत्रकार आचारसंहिता, मर्यादित भाषा प्रयोग, लैङ्गिक संवेदनशीलता तथा जिम्मेवार समाचार सम्प्रेषणका विषयमा सहजीकरण गरेका थिए। उनले पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम नभई समाजलाई सही दिशा दिने जिम्मेवार पेशा भएकाले तथ्यपरक, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

मिडिया काउन्सिल मधेश प्रदेशका सदस्य–सचिव ओमविक्रम कटुवालले स्वागत मन्तव्य व्यक्त गर्दै पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

अभिमुखीकरण कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विश्वसनीय, मर्यादित र व्यवसायिक पत्रकारितामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


सम्बन्धित समाचार
भर्खरै