Logo

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

चितवनमा जारी महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै झाले पार्टीको आन्तरिक एकतामा खलल पुर्‍याउने गरी भइरहेको गुटगत चलखेलप्रति सभापति रवि लामिछानेको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘यदि संस्थापन पक्ष गुटबन्दीमा लागेको हो भने म आदरणीय सभापति रवि लामिछानेज्यूलाई स्पष्ट आग्रह गर्दछु— यस्ता क्रियाकलापमा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याइयोस् ।’

चुनावी मैदानमा होमिएका झा आफूप्रति कार्यकर्ता र मतदाताको निकै सकारात्मक प्रतिक्रिया रहेको दाबी गर्छन् । महाधिवेशनको माहोल आफ्नो पक्षमा रहेको बताउँदै उनले चुनावी परिणाम आफू अनुकूल आउनेमा पूर्ण विश्वस्त देखिएका छन् ।

पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै उनले गुटबन्दीको अन्त्य नै पार्टीको भविष्यका लागि अपरिहार्य रहेको जिकिर गरे । झाको यो अभिव्यक्तिले रास्वपाको जारी महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धाको रापिलो बहसलाई थप सतहमा ल्याइदिएको छ ।


सम्बन्धित समाचार